‘तमोर–मेवा जलविद्युत आयोजना’मा स्वागत छ !
'स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड, नेपाल' एक पब्लिक कम्पनीको रुपमा विधिवत संस्थापित कम्पनी हो । नेपालमा उपलब्ध जलस्रोतलाई उपयोग गरी सम्भव जलविद्युत आयोजनाहरुको अध्ययन, अन्वेषण र निर्माणको उद्देश्यका साथ विक्रम सम्वत् २०५६ साल मंसिर १४ गते नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा (प. लि. नं. ७२१/०५६/०५७) दर्ता भएको सहर्ष जानकारी गराउँछौँ ।
कम्पनीले आफ्नो उद्देश्यअनुसार हालको प्रदेश नं. १ अन्तरगत पूर्वी नेपालको ताप्लेजुङ जिल्ला भएर बग्ने तमोर र मेवा नदीहरुको पानी प्रयोग गरी १२८ मेगावाट जलविद्युत उत्पादन गर्नेगरी ‘तमोर–मेवा जलविद्युत आयोजना’को सर्वेक्षण अनुमतिपत्र लिइ सोको ‘सम्भाव्यता अध्ययन’ र ‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन’ समेत सम्पन्न गरी विद्युत ऐन, नियमावली र विद्युत निर्देशिका बमोजिम ‘विद्युत उत्पादन अनुमतिपत्र’ प्राप्तिका लागि विद्युत विकास विभागमार्फत ‘ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय’मा दरखास्त दिइसकेको छ । यो आयोजना प्राविधिक, आर्थिक र भौगोलिक हिसाबले निर्माण गर्न उपयुक्त छ । यो आयोजनाको कूल लागत रु. २६ अर्व १२ करोड छ भने प्रति मेगावाट लागत २० करोड ४० लाख ६२ हजार ५ सय रुपैयाँ छ । यो आयोजनाको वार्षिक आय करिब ४ अर्व रुपैयाँ रहेको छ । यस आयोजनाको निर्माणका लागि ७ किलोमिटरको सुरुङ मार्ग निर्माण गर्नुपर्ने हुन्छ ।
'वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन' स्वीकृतिका लागि विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सिफारिस भएको र ‘ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय’ले अन्तिम स्वीकृतिका लागि ‘वन तथा वातावरण मन्त्रालय’मा समेत सिफारिस गरिसकेको छ । वन तथा वातावरण मन्त्रालयले पनि सोको कार्यान्वयनको क्रममा ‘३५ दिने सार्वजनिक सूचना’ प्रकाशन गरी प्रबर्धक कम्पनी स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड, नेपालबाट ‘अन्तिम प्रस्तुति’ समेत गराइसकेको छ । स्वीकृतिको अन्तिम चरणमा रहेकोले कुनै पनि समय कम्पनीले ‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन’को स्वीकृति प्राप्त गर्नसक्ने अवस्था छ ।
उत्पादित विद्युतको लागि बजार व्यवस्थापनको सिलसिलामा ‘नेपाल विद्युत प्राधिकरण (NEA) ले विद्युत खरिद गर्नसक्ने ‘आशयपत्र’ (Letter of Intent) अर्थात् LOI दिइसकेको छ । प्रबर्धक कम्पनीले नेपाल विद्युत प्राधिकरण (NEA)सँग ‘विद्युत खरिद–बिक्री सम्झौता’ अर्थात् PPA को लागि ‘प्रसारण लाइन जडान सम्झौता’ (Grid Connection Agreement) सम्पन्न गरिसकेको छ । यसको मतलब ‘विद्युत खरिद–बिक्री सम्झौता’ चाँडै सम्पन्न हुने अवस्थामा छ ।
बैंक तथा वित्तिय संस्थाबाट दीर्घकालिन आयोजना ऋण ७५% (प्रतिशत) र स्वलगानी २५% (प्रतिशत) अर्थात् ऋण र स्वलगानीको औषत ७५:२५ छ । दीर्घकालिन ऋणतर्फ कुमारी बैंकको अगुवाईमा लागतको ७५% (प्रतिशत) कन्सोर्टियम ऋण लगानी गर्ने कुमारी बैंकले जिम्मेवारी लिएको प्रतिबद्धता पत्र जारी गरिसकेको छ । यो कम्पनी पब्लिक कम्पनी भएकोले स्वलगानीतर्फको पूँजी व्यवस्थापनको लागि २०% (प्रतिशत) सर्वसाधारण र १०% (प्रतिशत) आयोजना प्रभावित जनताको लागि छुट्याइएको छ । स्वलगानीको व्बाँकी ७०% (प्रतिशत) लगानी प्रबर्धक कम्पनीले संस्थापक शेयर बिक्री गरी जुटाउनेछ ।
यो आयोजनाको निर्माण सन् २०२१ अर्थात् २०७७ को अन्तिमबाट सुरु गरी सन् २०२६ अर्थात् २०८३ मा सम्पन्न गर्ने लक्ष्य छ । यो आयोजनाको निर्माण अवधि ५ वर्षको हुनेछ ।
धन्यबाद !
भानेन्द्रकुमार लिम्बू
अध्यक्ष
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड, नेपाल
email:
bhanendra@sparkhydro.com
info@sparkhydro.com